समाचार

उम्मेदवार सिफारिसमा जेन-जी को नाम अनिवार्य राख्न नेकपाको निर्देशन

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने निर्वाचनमा प्रत्यक्षतर्फ एक जेन जी युवा र महिलासहित कम्तीमा ५ उम्मेदवार सिफारिस गर्न आन्तरिक निर्देशन जारी गरेको छ ।

संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना जेन–जी युवा र एक महिलासहित बढीमा ५ जना सिफारिस गर्ने ।’ यो निर्देशनमा सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए–नभएको खुलाउने र सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्ने पनि उल्लेख गरिएको छ ।

निर्देशनमा राष्ट्रिय सभाका लागि प्रदेशले यसपटक निर्वाचन हुने प्रत्येक क्लस्टरबाट बढीमा ५–५ जना सिफारिस गर्न भनिएको छ । त्यस्तै माघ ११ मा हुने समानुपातिक निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा २ महिलासहित ४ जना सिफारिस गर्न निर्देशन छ । ‘एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना सिफारिस गर्ने । सम्पर्क समन्वय प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने,’ नेकपाले भनेको छ, ‘उपत्यका विशेष प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने । प्रवास प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने । जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने ।’

उम्मेदवार सिफारिस गर्दा संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्नुपर्ने विधि बनाएको छ । ‘शहीद परिवार, बेपत्ता परिवार, द्वन्द्व–पीडित, घाइते, अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न वर्गलाई प्राथमिकतापूर्वक सिफारिस गर्ने । एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने,’ उसले भनेको छ ।

नेकपाले आर्थिक रूपमा स्वच्छ र पारदर्शी उम्मेदवारलाई सिफारिस गर्न पनि आग्रह गरेको छ । अदालतले भ्रष्टाचारमा दोषी ठहर गरी सजाय तोकेको हुन नहुने, कर, राजस्व र सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने, कुनै पनि प्रकारको कालोसूचीमा नरहेको हुनुपर्ने, सम्पत्ति र आय स्रोतको घोषणा गर्न तयार हुनुपर्ने उल्लेख छ । त्यस्तै कुनै कारोबारमा संलग्न भए कर/राजस्वमा अद्यावधिक भएको हुनुपर्ने, निर्वाचन आयोगले तोकेअनुसार स्वघोषणा गर्न तयार हुनुपर्ने र पार्टीको आर्थिक अनुशासन पालना गरेको हुनुपर्ने उम्मेदवारको थप विशेषता मागिएको छ । सामाजिक आचरण र व्यवहार असल एवम् स्वच्छ हुनुपर्ने, जातीय, लैङ्गिक, धार्मिक, भाषिक वा कुनै सामाजिक भेदभावसम्बन्धी अपराधमा दोषी ठहर भएको हुन नहुने, घरेलु हिंसा, बालश्रम, मानव बेचबिखन, यौन उत्पीडनजस्ता नैतिक पतन देखिने मुद्दामा दोषी ठहर भएको हुन नहुने पनि उम्मेदवार सिफारिस गर्दा चनाखो हुनुपर्ने नेकपाको निर्देशनमा भनिएको छ ।

राजनीतिक तथा वैचारिक रूपमा स्पष्ट र प्रतिबद्ध हुनुपर्ने, पार्टीको नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध हुनुपर्ने, आन्दोलनमा निरन्तरता र योगदान गरेको हुनुपर्ने, सामाजिक रूपमा प्रतिष्ठित हुनुपर्ने र जनतामा लोकप्रिय हुनुपर्ने पनि उम्मेदवारको मापदण्ड छ । उम्मेदवारहरू सिफारिस गर्दा योग्यता र मापदण्डका थप विषयमा ध्यान दिने विषय पनि निर्देशनमा समेटिएको छ । ‘विषयगत अध्ययन, अनुभव र विज्ञता हुनुपर्ने, नीति निर्माण र कार्यान्वयन क्षमता हुनुपर्ने, सार्वजनिक संवाद कला हुनुपर्ने, राजनीतिक, सांगठनिक अनुभव हुनुपर्ने, विभिन्न सङ्घर्षमा योगदान तथा अनुभव हुनुपर्ने,’ नेकपाले उम्मेदवारको मापदण्ड बनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button