समाचार

१० दल र समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा: संयोजकमा पुष्पकमल दाहाल

कार्तिक १९, २०८२ | काठमाडौं
एकता र विभाजनको शृङखलावद्ध विगतबाट गुज्रिदै आएको नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ परिघटनाको रुपमा १० दल र समूह मिलेर नयाँ पार्टी गठन भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दल र समूह मिलेर उनीहरुले नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको हो ।

जेन जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबीच नेपालमा नयाँ कम्युनिस्ट दल जन्मिएको हो । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी घोषणा गरियो । नयाँ पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधव नेपाललाई चयन गरिएको छ । पार्टीको तेस्रो वरियतामा झलनाथ खनाल र चौथो वरियतामा वामदेव गौतमलाई राखिएको छ ।

घोषणासभामा बोल्दै नेताहरुले कम्युनिस्ट आन्दोलनका लागि आजको दिन महत्वपूर्ण घटनाक्रम भएको बताएका छन् । संयोजक पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक दिन भएको बताउनुभयो । संयोजक दाहालले अहिलेको चुनौती सामना गर्दै अघि बढ्न राष्ट्रिय एकता चाहिएको र नयाँ पार्टीले त्यसका लागि योगदान गर्न सक्ने चर्चा गर्नुभयो । पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतको कमजोरी हटाएर कम्युनिस्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

एकतामा सहभागी सबै पार्टीका नेतासँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र सबै घटकका केन्द्रीय समितिलाई समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरिएको नेताहरुले बताएका छन् । त्यस्तै, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादीको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधि अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि हुने भएका छन् । त्यस्तै, पार्टी एकतामा सामेल सबै पार्टीको चल–अचल, बैंक मौज्दात लगायतका सम्पत्तिको स्वामित्व र दायित्व नेपाली कम्युनिस्ट पार्टीको स्वामित्वमा रहने भएको छ । नयाँ पार्टीको महाधिवेशन ६ महिनाभित्र गरिने नेताहरुले बताएका छन् ।

२३ बुँदे प्रतिबद्धता सार्वजनिक
यसैबीच, नेपाली कम्युनिस्ट पार्टीले २३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, जनताप्रति निष्ठावान रहने तथा माक्र्सवाद र लेनिनवादको नेपालमा सिर्जनात्मक ढंगले लागू गर्ने, वैज्ञानिक समाजवादको स्थापनाकाको लक्ष्यमा अघि बढ्ने प्रतिवद्धता जनाइएको छ । नवगठित पार्टीले संविधानको रक्षा, संघीयताको सबलीकरण र प्रदेश जनप्रतिनिधिको संख्या घटाइने नीति लिएको छ ।

सुशासनका लागि निरन्तर प्रयत्न रहने, उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गरी दोषीलाई कारबाही गर्ने, राज्यको सेवा प्रवाह छिटो छरितो, आधारभूत सेवामा जनतालाई जोड्ने, सबै खालेका शोषण दमन अन्त्य गर्न संघर्षरत रहने प्रतिबद्धतापत्रमा उल्लेख छ । पार्टीमा आन्तरिक लोकतन्त्र स्थापना गर्न आवश्यक विधि बनाउने, पार्टीमा सबै नेता उत्पादन र श्रम कार्यमा संलग्न हुने, कम्युनिस्ट आचरणको कडाइका साथ लागू गर्ने र सादा जीवनशैली अवलम्बन गर्ने नीतिगत व्यवस्था घोषणा गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button