नेकपा र जसपा को एकिकरण पक्षधरबीच एकता घोषणा

काठमाडौँ । गत ११ मंसिर २०८२ का दिन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) को एकिकरण पक्षधरबीच राजधानीको राष्ट्रिय सभा गृहमा औपचारिक एकता घोषणा भएको छ ।
दुई दलले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै मुलुकलाई समाजवादको दिशामा अघि बढाउने र संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तनलाई आफ्नो रणनीतिक लक्ष्य बनाएका छन् । एकीकृत पार्टीले विगतका समीक्षा गर्दै ‘नेपाली विशेषताको समाजवाद’ लाई मूल कार्यक्रमको रूपमा अङ्गीकार गर्ने निर्णय गरेको छ ।
नेताहरूले पहिचान र अधिकारसहितको सङ्घीय समाजवादी गणतन्त्र प्राप्तिको लागि सडक, सदन र सरकार तीनवटै मोर्चाबाट सङ्घर्ष गर्ने प्रतिबद्धता जनाएका छन् । साङ्गठनिक व्यवस्थापनको हकमा, पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वका आधारमा सञ्चालन गरिनेछ भने जनवादी केन्द्रीयताको पद्धति अपनाउँदै दुवै पार्टीका संरचनाहरू आपसी सहमतिका आधारमा समायोजन गरिने सहमति बनेको छ।
दस्ताबेजहरूमा रहने मतभेदहरू एकता महाधिवेशन मार्फत हल गरिने यो एकताले नेपालको कम्युनिस्ट र समाजवादी धारको राजनीतिमा नयाँ समीकरणको सङ्केत गरेको छ ।










